Wednesday, January 2, 2013

काठमाडौं-चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

काठमाडौं उपत्यकाको परिचयका रुपमा रहेको पर्यटकीय महत्वलाई प्रविधिसँग जोड्दै अगाडि बढाउने उद्देश्यका साथ केबलकार निर्माण गर्न लागिएको सो संस्थाका संस्थापक अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराइसकेको र केबलकार उपलब्ध गराउने कम्पनीको खोजीमा रहेको बताउँदै संस्थापक पौडेलले जर्मनी, फ्रान्स र स्विजरल्यान्डको कुन कम्पनी उपयुक्त हुन्छ भन्ने बारेमा कुराकानी भइरहेको जानकारी दिए ।
'मुख्य कुरा हामीलाई प्रविधिमा विश्वसनियताको जरुरत रहेको छ, सोही कारण हामीले संसारभरिकै केबलकार निर्माताहरुसँग एकसरो छलफल गरिसकेका छौँ, सबैसँग गरिएको छलफलको आधारमा कुन कम्पनी उपयुक्त हुन्छ भन्ने छानेर नै केबलकार आयात गरिन्छ' रासससँगको कुराकानीमा पौडेलले भने ।
थानकोट त्रिभुवन पार्कदेखि चन्द्रागिरिसम्म २ दशमलब ४ किलोमिटर लम्बाइ रहेको सो आयोजनाका लागि करिब रु दुई अर्ब लागत लाग्ने बताइएको छ।
लागतका लागि सरकारी तथा निजी क्षेत्रका बैंकहरुसँग पनि कुराकानी अगाडि बढेको र केबलकारको स्टेसनका लागि आवश्यक पर्ने ८० रोपनी जग्गासमेत रु ४० करोडमा खरिद गरिसकेको छ।
यसअघि चितवनको चेरेसदेखि मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गरिसकेको मनकामना दर्शन प्रालिसँग पनि केबलकार सञ्चालनको अनुभव र त्यसमा प्रयुक्त भएको प्रविधिका बारेमा छलफल भएको सञ्चालकहरुले जानकारी दिएका छन्।
हामीले विगत तीन वर्षदेखि अथकरुपमा केबलकार सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा धायौँ, तीनवर्षको अथक प्रयासपछि मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन पास गरिदिएको छ र केबलकार सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत स्वीकृति प्रदान गरिसकेको छ,' पौडेलले भने ।
कतिवटा केबलकार सञ्चालन गर्ने भन्ने विषयमा पनि संस्थापकहरु छलफल गरिरहेको र प्रविधि कुन उपयुक्त हुन्छ त्यसका आधारमा ३२ वटा कि २६ वटा बक्स टुङ्गो लाग्ने बताइएको छ।
आठ सिट क्षमताको केबलकार भएमा २६ वटासम्म र ६ सिट क्षमताका भए ३२ वटासम्म सञ्चालनमा ल्याउन सकिने पौडेलले बताए ।
केबलकारले प्रतिघन्टा अधिकतम् एक हजार यात्रुलाई सुविधा प्रदान गर्ने बताइएको छ। वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सुविधा दिने गरी केबलकारको निर्माण हुन लागेको छ।
केबलकार सञ्चालनका लागि तल्लो स्टेसनसम्म पूर्णरुपमा बाटो पुगिसकेको र चन्द्रागिरिसम्म पनि कच्ची सडक पुगिसकेको अवस्थामा केबलकार सञ्चालकहरुले बनिसकेको सडकको समेत स्तरोन्नति गर्ने बताएका छन्।
संस्थापक पौडेल भने, 'बनिसकेको सडकलाई हामी केही मात्रामा स्तरोन्नति गर्छौं, र पैदल यात्राका लागि पनि पैदल बाटो बनाउँछौँ, जसका कारण केबलकार सञ्चालनमा सहजता पैदा होओस्।'
केबलकार सामुदायिक वन क्षेत्रको ७२० रोपनी क्षेत्रफलमा पर्ने भएकाले सरकारी प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले लामो समय लागेको बताइन्छ।
संस्थापक पौडेलका अनुसार सोको प्रतिवेदन पनि स्वीकृत भइसकेकाले पूर्वाधार निर्माण अगाडि बढाउन बाटो खुलिसकेको छ।
थानकोटस्थित त्रिभुवनपार्क नजिकैबाट चन्द्रागिरिमा रहेको इच्छापुरेश्वर महादेव मन्दिरसम्म केबलकार निर्माण गरी सञ्चालन गर्न लागेको छ।
योजनाअनुसार केबलकारको तल्लो स्टेसनमा मनोरञ्जन पार्क, चन्द्रागिरिमा अत्याधुनिक प्रविधिको रिसोर्टका साथ एक भ्यूटावर पनि निर्माण गरिने बताइएको छ।
केबलकारको तल्लो स्टेसनमा मनोरञ्जन पार्कमा चिल्डे्रन र वयस्क दुवैका लागि उपयुक्त हुने मनोरञ्जनात्मक गतिविधि समावेश गर्न लागिएको छ। बालरेल, पानीको फोहरासँगको मनोरञ्जन गतिविधि पार्कमा राखिनेछ।
यसैगरी, केबलकार चढेर चन्द्रागिरि पुग्ने यात्रुका लागि चन्द्रागिरिडाँडामा सुविधा सम्पन्न रिसोर्ट पनि सञ्चालन गरिने भएको छ। संस्थापक पौडेलका अनुसार प्रारम्भिक चरणमा ५० कोठे सो रिसोर्टमा सबैखालका सुविधा उपलब्ध गराइने छ।
उनका अनुसार १० देखि १२ वटा कटेज रहने सो रिसोर्टमा २०० जनासम्मको सेमिनार हलसमेत निर्माण गरिनेछ।
चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा अग्लो डाँडो भएकाले त्यहाँ रहने भ्यूटावरबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सकिने पनि पौडेलेले जानकारी दिए ।
संस्थापक पौडेलका अनुसार सो केबलकारका लागि आइएमई ग्रुप, भाटभटेनी ग्रुप, अस्ट्रेलिया बस्ने गैरआवासीय नेपाली उत्तम नेपाल, इलाइट क्यापिटलका अध्यक्ष ज्ञानबहादुर जिसी, हाथवे इन्भेस्टमेन्ट नेपालका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल संस्थापक सञ्चालक रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि काठमाडौँको शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरेको थियो।
मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौँको चन्द्रागिरिमा मात्र निजी क्षेत्रले केबलकार बनाउन चासो देखाएको हो।
मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार पछिल्लो समयमा नेपालको परिचयकै रुपमा स्थापित भएकाले सञ्चालकहरुले चन्द्रागिरिको केबलकारलाई पनि असाध्यै महत्व दिएर सञ्चालनमा ल्याउन खोजेका हुन्।
मौसम खुलेको बेला चन्द्रागिरिबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत देखिने भएकाले पर्यटकीय गतिविधिका लागि पनि सो आयोजना उत्कृष्ट हुने विश्वास लिन सकिन्छ।

No comments:

Post a Comment