Wednesday, January 2, 2013

थानकोट–चन्द्रागिरि केबलकार

थानकोटदेखि चन्द्रागिरिसम्मको केबलकार आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको छ । काठमाडौं फन पार्क प्रा लि ले  नर्माण गर्न लागेको सो केबलकारमा सवा २ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘केबलकार २०७१ को दशैं  सम्ममा सञ्चालन गर्ने लक्ष्य लिएर काम अगाडि बढाएका छौं ’ आई एमई ग्रुप का कार्यकारी अध्यक्ष एवम् मुख्य लगानीकर्ता चन्द्र ढकालले आभियानसँग भने ।

केबलकारको दूरी २ दशमलव २ किलोमिटर रहनेछ । कम्पनीले केबलकार निर्माणका लागि ७ सय २० रोपनी जग्गा किनिसकेको ढकालले जानकारी दिए । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भइसकेको छ । ‘विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ,’ अर्का लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले भने  ‘पूर्वाधार निर्माण शुरू गर्ने तयारीमा छौं ।’ पार्कले थानकोट स्थित त्रिभुवन पार्क नजिकैबाट चन्द्रागिरिमा रहेको इच्छापुरेश्वर महादेव मन्दिरसम्म केबलकार पुर्‍याउन लागेको हो । केबलकारको बटम स्टेशनमा मनोरञ्जन पार्क, चन्द्रागिरिमा अत्याधुनिक प्रविधिको रिसोर्टका साथै भ्यू टावर पनि निर्माण गरिने पौडेलले जानकारी दिए । ‘२१औं शताब्दी सुहाउँदो प्रविधि तथा सुविधा दिई महादेव मन्दिरको प्रवद्र्धनको योजनामा छौं ’पार्कका अर्का एक सञ्चालक ज्ञानबहादुर जीसीले भने ।

काठमाडौं आएका पर्यटकमध्ये आधाले केबलकार चढ्ने अपेक्षा कम्पनीले गरेको छ । ‘वार्षिक १० लाखभन्दा बढी तीर्थयात्रुलाई केबलकार चढाउने लक्ष्य छ,’ पौडेलले भने । केबलकारको बटममा सञ्चालन हुने पार्कमा बालबालिका तथा वयस्कका लागि उपयुक्त मनोरञ्जन गतिविधि समावेश गरिने उनले बताए । चन्द्रगिरिमा सय कोठाको रिसोर्ट निर्माण गरिने पनि उनले बताए । १० देखि १२ ओटा कटेज रहने सो रिसोर्टमा २ सय जनासम्मको सेमिनार हलको व्यवस्थासमेत गरिनेछ । पार्कका प्रर्वतकहरूमा भाटभटेनी सुपर मार्केट ग्रूपका अध्यक्ष मीनबहादुर गुरुङ, गैरआवासीय नेपाली उत्तम नेपाल, एलाइट क्यापिटलका सीईओ ज्ञानबहादुर जीसी, हाथवे इन्भेष्टमेण्ट नेपालका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल र आईएमई ग्रूपका ढकाल रहेका छन् ।

No comments:

Post a Comment