Wednesday, January 2, 2013

चम्पादेवीमा केबलकार

चम्पादेवीमा केबलकार

रबिन्द्र मिश्र

केबलकारले जोडेपछि चम्पादेवीको चुचुरोलाई हिन्दू र बौद्ध धर्मको यस्तो अतुलनीय कलात्मक र ऐतिहासिक संगम स्थल बनाउने थिएँ जहाँ पुग्न फ्रान्समा आइफल टावर चढ्नजस्तै बाह्रै महिना भिड लाग्ने थियो।
गत बुधवार (२६ जेठ) यही दैनिकको अग्रपृष्ठमा काठमाडौंको उत्तरतर्फ रहेको शिवपुरी पहाडमा केबलकार निर्माणको प्रस्तावबारे समाचार छापिएको थियो। केबलकारसम्बन्धी त्यस समाचारले मेरो ध्यान बढी आकर्षित किन गर्‍यो भने त्यसको केही अघिमात्र मैले एकजना अर्बपति नेपाली व्यापारीलाई काठमाडौंको दक्षीणमा पर्ने अर्को पहाड चम्पादेवीमा केबलकार र 'एडभेन्चर पार्क' निर्माण गर्न पहल गर्नुभए कति राम्रो हुनेथियो भनेर सुझाएको थिएँ।


हाम्रो पुस्ता नेपालका विफल पुस्ताको शृंखलामा पर्छ। यसले राजनीतिक, सांस्कृतिक कुनैपनि क्षेत्रमा ऐतिहासिक महत्वका कुनै पनि गर्वयोग्य काम गरेर देखाउन सकेको छैन। राजनीतिमा आएका सैद्धान्तिक परिवर्तन आफैँमा उपलब्धि होइनन्। सांस्कृतिक पक्षमा हेर्दा नेपाली इतिहासको यस कालखण्डमा आजभन्दा सय वर्षपछि पनि पर्यटकीय र साँस्कृतिक महत्व राख्ने केही बनेको छ भने त्यो तिब्बतबाट नेपाल आएका बौद्धमार्गीले ठाउँठाउँमा बनाएका भव्य बौद्ध गुम्बामात्र देखिन्छन्।



तिनले तिब्बती या नेपाली असाधारण कलात्मक इतिहासलाई निरन्तरता दिन सकेका त छैनन् तैपनि केही हुन नसकेको समयमा जे भएको छ त्यसलाई धन्य भन्नैपर्छ। सरकारी स्तरबाट त त्यस्ता महान् काम हुने संभावना अझ धेरै वर्षसम्मका लागि अत्यन्त न्यून देखिन्छ। यस्तो परिस्थितिमा त्यस्ता काम गर्नसक्ने एउटै वर्ग धनाढ्य व्यापारी हुन्। उदाहरणका लागि काठमाडौंको पूर्वमा अवस्थित साँगामा आउँदो साता राष्ट्रपति रामवरण यादवबाट उद्घाटन हुन लागेको १०८ फिट अग्लो कैलाशनाथ महादेवको मूर्ति निर्माण र त्यसको वरिपरि फैलिएको ठूलो क्षेत्रको विकासका लागि उद्योगपति कमल जैनले करोडौं खर्च गरेका छन्। एकजना व्यापारीबाट भएको त्यो अद्वितीय काम हो।



चम्पादेवीको सपनालाई मैले कैलाशनाथ महादेवको भन्दा पनि ठूलो परियोजनाका रूपमा लिने गरेको छु। त्यसैले, मौका पर्ने बित्तिकै मेरो घरको छतबाट म भद्र सौन्दर्य छरेर थपक्क बसेकी चम्पादेवीलाई हेर्दै आफ्ना सपना बुन्ने गर्छु। चम्पादेवीलाई हेर्दा मलाई स्वीटजरल्यान्डका त्यस्तै पहाडमा निर्मित कयौं केबलकार र 'एडभेन्चर पार्क'हरूको सम्झना हुन्छ। म सोच्छु, पैसा भैदिएको भए म पनि चम्पादेवीमा केबलकार निर्माण गर्ने थिएँ र त्यस योजनालाई व्यापारिकरूपमा अझ फराकिलो पार्ने थिएँ। चम्पादेवीको चुचुरातर्फको यात्रालाई बीचमा एकपल्ट ‘ब्रेक' लगाइदिने थिएँ र त्यहाँ स्वीटजरल्यान्डमा जस्तै गजबको 'एडभेन्चर पार्क' निर्माण गर्ने थिएँ। त्यस्तो पार्क निर्माणको लागत तुलनात्मकरूपमा कम हुन्छ। किनभने तिनमा रूख, काठ, सिक्री, डोरी जस्ता सामग्रीको प्रयोग गरिएका हुन्छन्। साथमा रेष्टुराँ, दृश्यावलोकन स्थल आदि त हुने नै भए। त्यहाँ अहिले नै चम्पादेवी माईको मन्दीर र एउटा स्तुप छ।



त्यसैले, दोस्रो खण्डको यात्रामा केबलकारबाट चम्पादेवीको चुचुरोमा पुगेपछि चाहिँ म करोडौं खर्च गरेर कलात्मक परिसरभित्र भव्य र हाम्रो इतिहासको कलात्मक स्तरसँग मिल्दोजुल्दो चम्पादेवी मन्दिर र बौद्ध स्तुप निर्माण गर्ने थिएँ, जसले कलाविहीन नेपाली इतिहासको यस कालखण्डको रिक्ततालाई केही हदसम्म भए पनि पूर्ति गरिदिने थियो। हामीकहाँ मल्ल काल र केही हदसम्म राणाकाल यता कुनैपनि उल्लेखनीय कलात्मक र ऐतिहासिक धार्मिक केन्द्र निर्माण भएका छैनन्। त्यसैले, चम्पादेवीको चुचरोलाई हिन्दू र बौद्ध धर्मको यस्तो अतुलनीय संगम स्थल बनाउने थिएँ जहाँ भक्तजन अनि संस्कृति र प्रकृतिप्रेमीहरू नगईकन धरै पाउने थिएनन्। काठमाडौं आउने पर्यटकले नजिकै रहेको चम्पादेवी नगए फ्रान्स गएर आइफल टावर नगएजस्तै नेपाल भ्रमणलाई अपूर्ण संझिने थिए। आइफल टावर चढ्न हरबखत स्वदेशी र विदेशीको लाम लागेजस्तै चम्पादेवी पुग्न बाह्रैकाल बाह्रै महिना भिड लाग्ने थियो। राम्रा होटेल, सुन्दर हिमाल र पहाड अनि टे्रकिङ र राफ्िटङले मात्र पर्यटक आकर्षण गर्न खोज्नेको भिडमा चम्पादेवी आयोजना अतुलनीय कला, धर्म, संस्कृति, सौन्दर्य र पर्यटनको एउटा गजबकै व्यापारिक नमुना हुनेथियो।



त्यो देशकै लागि ठूलो योगदान हुनेथियो। मानदेवले चाँगुनाराण बनाए भनेर सदियौंपछि पनि हामीले संझिएजस्तै भावि पुस्ताले पनि चम्पादेवी मन्दीर र स्तुपको निर्मातालाई सदा सम्झिरहने थिए। तर विडम्बना, म आफ्नो डेराको छतमाथि बसेर त्यो सपना बुनिरहेको थिएँ। आफ्नासामर्थ्य नभएकाले मैले मेरो सपना नेपालका लागि सधैँ सुन्दर सपना बुन्ने र ती मध्येका कयौंलाई चरितार्थ पनि गर्ने एकजना अर्बपति नेपालीसँग बाँडेको थिएँ। उनले मेरो सल्लाहलाई कति गम्भीरतापूर्वक लिए, त्यो चाहिँ मलाई थाहा भएन।


मनकामना केबलकार नेपालको परिप्रेक्षमा एउटा अत्यन्त गर्वयोग्य अग्रसरता थियो। अझ गर्वयोग्य के भने, आधुनिक शौचालय र सरसफाइको कमै ज्ञान भएका सयौं नेपाली जाने सो केबलकार परिसरलाई उदाहरणीय ढंगबाट सफा र व्यवस्थित राखिएको छ। त्यहाँ प्रवेश गरेपछि युरोपकै कुनै केबलकार परिसरभित्र प्रवेश गरेझैं लाग्दछ। हाल शिवपुरीमा केबलकारको प्रस्ताव गर्ने यती एयरलाइन्सका संचालक आङछिरिंग शेर्पा पनि एकजना सफल उद्यमी हुन्। उनले गरेको काम पनि यत्तिकै स्तरीय हुने अपेक्षा गर्न सकिन्छ। शेर्पाले व्यवसायको साथसाथै यती एयरलाइन्समार्फत् प्रशस्त सामाजिक काम पनि गरेका छन्। यस स्तम्भकारको उनलाई आग्रह के भने, शिवपुरीमा केबलकार निर्माण गर्ने प्रस्ताव सदर भयो भने त्यसलाई केबलकार व्यवसायका रूपमा मात्र नलिएर एउटा महान् ऐतिहासिक आयोजनाका रूपमा लिइदिए चम्पादेवीको सपना शिवपुरीमा कार्यान्वयन हुनसक्थ्यो।


प्रशंगवश यो स्तम्भ केबलकारबाट सुरु भयो। तर यहाँ चर्चा गर्न खोजिएको मूल विषयचाहिँ के हो भने देशमा सरकारले गरिदेला भन्ने स्थिति छैन। त्यसैले, यस्तो अवस्थामा व्यापारीहरू स्वयं अलि बढी सिर्जनशील भइदिने हो भने उनीहरूले व्यक्तिगत नाफा आर्जन गर्नुका साथै आफ्नो छवि निर्माण त गर्थे नै, संगै यो काठमाडौं खाल्डो र देशका अन्य ठाउँमा धेरै राम्रा काम पनि हुनेथिए।


केही समयअघि मैले काठमाडौंको मुटुमा अवस्थित कमलपोखरीलाई स्थानीय तहमै सुन्दर तलाउका रूपमा कसरी विकास गर्न सकिएला भनेर लेखेको थिएँ। त्यसपछि सो पोखरीबारे कतिपयले प्रशस्त चासो देखाए तर काम चाहिँ अहिलेसम्म केही भएको छैन। काठमाण्डौं उपत्यकामा त्यस्ता अरू थुप्रै पोखरी छन्। सामाजिकरूपमा ती पोखरी पुनःस्थापित हुने संभावना कमै देखिन्छ। त्यसैले, कमसेकम व्यापारिक संभावना बोकेका पोखरीमा सरकारले प्रबर्धन गर्न खोजिरहेको सार्वजनिक­निजी साझेदारी अवधारणाअन्तगर्त व्यापारीहरूले हात हाल्ने हो भने पोखरीहरू सुन्दरढंगबाट पुनःस्थापित हुनुका साथै काठमाडौंको सौन्दर्य बढ्नेथियो र लगानीकर्तालाई फाइदा पनि हुनेथियो। काठमाडौंको मुटुमा अवस्थित सानो र ठीकैको 'गार्डेन अफ ड्रिम्स' त व्यापारिकरूपबाट सफलतापूर्वक संचालन हुन सकिरहेको छ भने, अत्यन्त रमणीय केन्द्रका रूपमा विकसित हुनसक्ने संभावना बोकेका उपत्यकाका कयौं पोखरीलाई लगानीकर्ताले दीर्घकालीन भाडामा लिएर व्यापारिक प्रयोजनका लागि विकास गरेमा ती निश्चितरूपमा नाफामूलक व्यवसाय बन्नेछन्।



उपत्यकाको कंवि्र्कटको जंगलका माझ ठाउँठाउँमा रूखैरूखले घेरिएका, कमलका फूल फुलेका, घाम र छायाँमा सुस्ताउन सकिने, खानपानको व्यवस्था हुने त्यस्ता रमणीय तलाउमा पर्यटक, युवकयुवति, प्रेमीप्रेमिका, बूढाबुढी सबै आकर्षित हुनेछन्। त्यस्ता कयौं पोखरी सांस्कृतिक महत्वका भएकाले सांस्कृतिक सम्पदाको सम्बर्धनमा चासो देखाउने नेपाल इनभेस्टमेन्ट बैंक र त्यसका अध्यक्ष तथा प्रमुख कार्यकारी पृथ्वीबहादुर पाण्डेको ध्यान त्यता आकर्षित भइदिए कति राम्रो हुनेथियो?


म हरेक दिन काठमाण्डौंको दक्षीणमा अवस्थित भैंसेपाटीको ओरालो हुँदै काममा जाँदा, उद्योगपति उपेन्द्र महतोको नाममा राखिएको 'महतो मार्ग' देख्छु। उनले आफ्नो घर छेउको बाटो पीच गरिदिएकाले उनको नाममा त्यस बाटाको नामाकरण गरिएको हो। म अरू कयौं धनाढ्य बसोबास गर्ने बाटाहरूबाट हिँडेको छु। जताततै बेहाल देखिन्छ बाटाहरूको। ती बाटालाई धनाढ्यहरूले राम्रो बनाइदिने हो भने संबन्धित समुदायले तीनै धनाढ्यको नाममा ती बाटाको नामाकरण गर्न संभवतः कुनै आपत्ति जनाउने छैनन्। कसैले निश्चित् रकम खर्च गरेर निश्चित् दूरीको बाटो तोकिएको मापदण्डअनुरूप बनाइदिन्छ र त्यसको स्याहारसंभार गरिदिन्छ भने सो बाटोलाई उसैको नाममा नामाकरण गर्दा केही हानि नहोला। बनोस्न चौधरी मार्ग, खेतान मार्ग, बैध्य मार्ग, ज्योति मार्ग आदिआदि।



के फरक पर्‍यो र? राम्रा सडकले सहरकै शोभा बढ्छ। त्यस्तै, हरेक दिन कार्यालय जाँदा मेरो आँखा पुलचोकको एउटा खण्डमा बाटोको माझमा बिरुवा लगाएर बनाइएको सुन्दर 'डिभाइडर'मा पर्छ। त्यसमा राखिएको सानो सूचनामा 'हिमालयन डिस्टिलरी लिमिटेडद्वारा गर्वका साथ संरक्षित' लेखिएको छ र त्यस डिभाइडरलाई राम्रोसँग सम्बर्धन पनि गरिएको छ। त्यसबाट सो बाटोको शोभा त गजबले बढेको छ नै, साथसाथै हिमालयन डिस्टिलरीको सानदार विज्ञापन पनि भएको छ।


धनाढ्य व्यापारीहरू गच्छेअनुसार माथि चर्चा गरिएको चम्पादेवी आयोजनादेखि बाटोमा सुन्दर डिभाइडर निर्माण गर्नेसम्मका अनगिन्ति काम गर्नसक्ने सामर्थ्य राख्छन्, जसबाट उनीहरूको व्यापारिक हित हुनुका साथै सहरको संस्कृति, सौन्दर्य र अर्थतन्त्रको प्रवर्धन पनि हुन्छ। यी मेरो सपनाका व्यापारिक संसारका एकाध सोचाइमात्र हुन् जुन सदा सपनामैं सीमित रहन सक्छन्। तर के विपनामै व्यापार गर्ने र सक्नेहरूबाट त्यस्ता काम होलान्?



No comments:

Post a Comment