Wednesday, December 19, 2012

कुश्मा-बलेवा यान्त्रिक पुल तयार, डेढ घन्टाको बाटो तीन मिनेटमै

कुश्मा-बलेवा यान्त्रिक पुल तयार, डेढ घन्टाको बाटो तीन मिनेटमै

दिलीप पौडेल, बाग्लुङ, मंसिर ४ - जिल्लाको बलेवादेखि पर्वतको कुश्मा जोड्न केबलकार मोडलको यान्त्रिण पुल निर्माण गरिएको छ। कुश्मा बजारदेखि नारायणस्थानको ढिकसम्म कालिगण्डकी नदीमाथि जोडिएका तारमा झुन्ड्याइएको बक्सबाट पहिलो पटक प्राविधिकसहितको टोली यात्रा गरेर परीक्षण गरेका हुन्।
पुल निर्माणपछि डेढ घन्टामा पुगिने स्थानमा अब तीन मिनेटमै पुग्न सकिने भएको छ। कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडले करिब चार करोडको लागतमा पुल बनाएको हो। यान्त्रिक पुलको पहिलो पटक सफल परीक्षण भएको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। 'प्राविधिक टोली आवतजावत गरेर सफल परीक्षण गरेका छन्,' श्रेष्ठले भने, 'पुसको दोस्रो सातादेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउछौं।'
-->सो पुलमा दुवैतर्फ पोल गाडेर ५ सय ५० मिटर लामा छ वटा फलामका लठा जडान गरिएको छ। फलामका लठामा यात्रु बस्न दुई वटा डब्बा जडान गरिएको छ। एक डब्बामा एक पटकमा आठ जना गरी दुईमा १६ जना सवारी गर्न सक्नेछ। एउटा डब्बाको क्षमताका करिब पाँच क्विन्टल रहेको केबल कार प्रालिका अध्यक्ष गणेश पाठकले बताए। विद्युत र जेनेरेटरबाट चल्ने पुलमा यात्रुका साथै मालसामानसमेत ढुवानी गर्न सकिनेछ।
पुल निर्माणपछि बाग्लुङको नारायणस्थान, अमलाचौर, पैयुँपाटा, कुश्मिसेरा, दमेक, सर्कुवा, पैयुँथन्थाप लगायत करिब एक दर्जन गाविसका स्थानीय लाभान्वित हुने बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए। 'पुल निर्माणसँगै बाग्लुङ र पर्वतको व्यापारिक सम्बन्ध विस्तारमा सघाउ पुगेको छ,' श्रेष्ठले भने।
पुल निजी क्षेत्रको लगानीमा कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडको स्वामित्वमा निर्माण गरिएको हो। रोप वे केबल कार प्रालि काठमाडौंको प्राविधिक टोलीले पुल बनाएको हो। बीचमा कालीगण्डकी नदी भएकाले हिँडेर आउँदा धेरै समय खर्चने भएपछि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउँदा सफल हुने भएपछि निजी क्षेत्रले निर्माण गरेको हो।
पर्यटकीय र व्यापारिक दृष्टिले पुल निर्माणले सघाउन भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्। पुल निर्माणपछि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनमा ल्याउन सघाउ पुग्ने स्थानीयको विश्वास छ। बलेवासम्म सिधा सवारी सञ्चालन नभएकाले हिँडेर जान टाढा पर्ने भएकाले विमानस्थल बन्द भएको थियो। 'अब तरकारी लगायत दुग्धजन्य बस्तुले सहजै बजार पाउने भएको छ,' बलेवाका नारायणप्रसाद शर्माले भने।
राज्यको मुख नताकी स्थानीयको सक्रियतामा विकास निर्माणको काम सुरु हुनु सह्राहनीय हुने पुलको परीक्षणमा सहभागी हुन आएका उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बताए।

No comments:

Post a Comment