Friday, July 6, 2012

थानकोट-चन्द्रागिरि केबलकार

काठमाडौं फनपार्कले करिब एक अर्ब रुपैयाँ लागतमा थानकोटदेखि चन्द्रागिरिसम्म केबलकार चलाउने भएको छ । डेढ वर्षभित्र निर्माण पूरा हुने यो केबलकार मनकामनापछि दोस्रो हुनेछ।  'जग्गा लिजमा लिने र किन्ने काम सकिएको छ,' केवलकारका लगानीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले नागरिकसँग भने, 'डेढ वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ।'
विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरेर केबलकार निर्माण गरिने लगानीकर्ताले बताएका छन्। निर्माण पूरा भएपछि वार्षिक ५ सयजनाले रोजगारी पाउनेछन्। चन्द्रागिरिदेखि थानकोटसम्म जाँदा-आउँदाको शुल्क ४ देखि ५ सयसम्म लाग्ने अनुमान छ।
फन पार्कमा आइएमई समूहका ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेस्टमेन्टका प्रबन्ध सञ्चालक अम्बिका पौडेल र एलिट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ज्ञानबहादुर जिसीको लगानी छ।

हेमराज ढकाल अध्यक्ष रहेको उक्त कम्पनीको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७० करोड छ। फनपार्कका लागि ३८ करोड रुपैयाँ खर्च भइसकेको छ।
यो केबलकार थानकोटको त्रिभुवन पार्कनजिकबाट चढ्न सकिने छ। यसको लम्बाई साढे दुई किलोमिटर छ। यसका लागि कम्पनीले सरकारसँग ७ सय २० हेक्टर जग्गा लिजमा लिइसकेको छ। थानकोटमा रहने २० मिटर चौडा बटम स्टेसन (केबलकार चढ्ने ठाउँ) का लागि सरकारसँग कम्पनीले जग्गा लिजमा लिइसकेको छ। स्थानीयसँग पनि ६० रोपनी जग्गा किनिसकेको पौडेलले बताए।

टप स्टेसन (केवलकारबाट ओर्लने ठाउँ) भालेश्वर डाँडामा पर्यटकलाई केन्द्रित गरेर महादेवको मन्दिर, होटल, दृश्यावलोकन टावर, सभा, बाल उद्यान, मनोरञ्जन पार्क, क्याफे र बगैंचा बनाउने योजना छ। केवलकारका लागि एक अर्ब र अरु पूर्वाधारका लागि थप लगानी हुनेछ। 'केबलकार चलिसकेपछि चन्द्रागिरिमा अवस्था हेरेर सय बेडको पाँचतारे होटल पनि बनाउन सकिन्छ,' पौडेलले भने।

काठमाडौंनजिक घुम्न र टहलिने ठाउँ नभएपछि लगानीकर्ताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न केबलकार बनाउने निधो गरेका हुन्। 'काठमाडौंमा दुई घन्टा बिताउने ठाउँ नभएपछि तीन वर्षअघि केबलकार बनाउन कम्पनी दर्ता गरिएको हो,' फनपार्क व्यवस्थापनको जिम्मेवारीसमेत लिएका पौडेलले भने। लगानीकर्ताले हङकङ, गोन्जावो र बेइजिङको केबलकार अवलोकन गरिसकेका छन् भने अन्तर्राष्ट्रिय विज्ञ अवलोकनका लागि आउँदै छन्।

No comments:

Post a Comment