Friday, July 6, 2012

धरानमा केबलकार


पूर्वी नेपालको धरानमा  १ अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण हुने भएको छ । सुनसरीको धरान नगरपालिकाबाट धनकुटाको महाभारत गाविससम्मको करीब ४ किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्ने तयारी भइरहेको जय धरान केबलकारका अध्यक्ष हरि बैरागी दाहालले बताए । उनका अनुसार पूर्वी नेपालको बाटो हुँदै आउने विदेशी पर्यटकका लागि  केबलकार यस क्षेत्रकै नयाँ पर्यटकीय प्रोडक्ट हुनेछ ।

केबलकार सञ्चालन गर्न जय धरान केबलकारका नाममा उद्योग विभागमा कम्पनी दर्ता भइसकेको छ । अनुमानित लागत रू. १ अर्ब राखिएको भए पनि राजनीतिक अस्थिरता र बजारमूल्यका कारण सवा अर्बसम्म लाग्नसक्ने पनि दाहालले जानकारी दिए । केबलकारसँगै सो क्षेत्रमा १ सय ६० सीट क्षमताको एउटा रेष्टुरेष्टसमेत सञ्चालन गर्ने योजनामा रहेको कम्पनीले बताएको छ । पूर्वी नेपालको पर्यटकीय क्षेत्रको यो केबलकारको अधिकतम क्षमता वार्षिक ६ लाख जना रहनेछ । यसमा १ सय जनाले रोजगारी पाउने बताइएको छ । स्वदेशी लगानीमा बन्ने सो केबलकार ३४ वर्षभित्रमा नै सञ्चालनमा ल्याइसकिने कम्पनीले बताएको छ । पब्लिक कम्पनी बनाएर सञ्चालन गर्ने योजनामा रहेको जय धरान केबलकारले पर्यटकीय सेवा मात्र नभएर सो क्षेत्रलाई आर्थिक रूपमा सम्पन्न बनाउने बाटो पनि अँगालेको अध्यक्ष दाहालले बताएका छन् ।

धरानसहति कालिकोट, डोटी र काभ्रेमा सरकारले नै केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिरहेको अवस्थामा निजीक्षेत्रबाट चासो आउनु स्वागतयोग्य भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । उनका अनुसार मन्त्रालयले धरानको भेडेटारमा यस्तो अध्ययन गरेको छ । रू. ५ लाख खर्च गरेर तयार पारिएको  सो विस्तृत सम्भाव्यता अध्ययन आवश्यक परेमा निजीक्षेत्रका लगानीकर्ताले हेर्न पाउने सरकारले बताएको छ 

सरकारले केबलकारका लागि सम्भाव्यता  अध्ययनमात्र गर्ने र सञ्चालनका लागि निजीक्षेत्र नै अग्रसर हुनुपर्ने मन्त्रालयले बताएको छ । नयाँ कम्पनीले मन्त्रालयसमक्ष सम्भाव्यता अध्ययनका लागि अनुरोध गरेमा आवश्यक सहयोग गर्न सक्ने रघुवंशीले बताए । मन्त्रालयले यसअघि काठमाडौंको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फूलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालिञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङ्गामा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिसकेको छ । यसमध्ये फुलचोकीमा पनि एक निजी कम्पनीले चासो देखाएको छ ।

No comments:

Post a Comment